यह ब्लॉग खोजें

सजीब बाटो

शनिवार, 2 जनवरी 2010

हेर पर बाट कोही आयो ,
आगो छ हातमा,तातो रगत छ छातीमा
उ हेर उ आउदै छ,उ यही नेताको घर तिर आउदैछ।
पुरानो लुगा फाटेको छ उसको,
गोडाहरु चलायमान छन,चप्पल बिना
तर पनी किन किन तेजस्पी लाग्छ उ,
उ यतै तिर आउदैछ,ल,ल आइनै पुगयो उ
सरासर उ भित्र पस्यो,नेताका चम्चाहरु उस लाई रोक्न थीए,
तर उ नीस्चित बाटोलाई पछाइरहयो,उस लाई प्रवाह छैन,
सजिब र नीर्जिब चिजको,
उ सिधा नेताको कोठामा पस्यो,पटुकामा सीउरेको सीरुपाते खुकुरी नीकाल्यो,
अनी नेताको गर्दनमा मार हान्यो,नेता दुइ टुक्रा भयो,
उसले म्रिदुल हासो हास्यो,उ को अनुहारमा झन बडी चमक आयो,
अनी उ करायो"नेपाल आमाको छातीको किला उखाले,
उ जुन बाटो आयो उही बाटो फर्क्यो,
म उठदा बिहानको सात बजी सकेछ,
छिटो छिटो कपडा लगाएर काम तिर लागे,
जिउको पसिना अहीले सम्म सुकेको थिएन,
हातमा रगतको टाटो थियो

Read more...

कठैबरा मेरो देश

ऊ पर कतै पहिरो गएको पाखो
आशाका जुइनो फुस्किएको त्यो पुल
अनि समयको उर्लदो भेल

साँझ कतै एक्लिएको बालकको क्रन्दन
अलपत्र भासिदै गइरहेको जवान स्पन्दन
अनि निराशाको बोझले थिचिएको अनुहार

टुकी वालेर धुम्धुमति बसेकी बूढीआमा
भविष्य खोज्न विदेशिएको हर्के
अनि सिरानी भिजाउने चिसो ओच्छयान

तराई,पहाड,हिमालले सजिएको ठाउँ
आफ्नै-सँग अल्झिएर भिरबाट लडेको शान्ति
अनि विचार नै विचारको कोलाहल

खेतालाको सम्पति जमिनदारको भागबन्डा
तमासा हेर्न तमासे
अनि एक्लै सुक्सुकाउँदै रोहिरहेको कठैबरा मेरो देश

Read more...

गजल

चोटहरु भुलाउनलाई,पिउनुको मजा कस्तो,
वेहोसी वेहोसी भइ,जिउनुको मजा कस्तो।

भित्रि मन च्यातीएर धुजा धुजा भए पनि,
अरुलाई देखाउन सिउनुको मजा कस्तो।।

उनको माया सुनै अरे मलाई के नै भाको छ र,
कहिले काहि फलाम भइ खिउनुको मजा कस्तो।।।

आसुले बगेका ति भित्री मनका टाटी हरु,
कहिले काहि आफ्नो भनि लिउनुको मजा कस्तो।।।।

Read more...

गजल

अलिकति मातहरु
नशालु ती रातहरु,

हरपलको सम्झना
अनि तिम्रा साथहरु।

तिमी मेरो म तिम्रो
अनि मायाका खातहरु,

कस्ता ती प्यासहरु
यौवनका दासहरु।

समर्पित ती दिनहरु
अनि मिठा यादहरु।

Read more...

अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन

शनिवार, 24 अक्तूबर 2009

श्यामल

भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ?
आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली परिवेशमा हुर्के र उनले धनीमानीले सजिलै अवलम्बन गर्न नचाहने माक्र्सवादजस्तो राजनीतिक दर्शनलाई अंगीकार गरे । उनले जनवादी नारालाई कलात्मक रूप दिए र रिमालले कोरेको गद्यकविताको राजमार्गलाई सिमेन्टेड (पक्की) बनाए । उनले आधुनिक नेपाली कविताको भाषालाई विषयवस्तु र रूपले समृद्ध पारे ।
भूपि यद्यपि सम्भ्रान्त व्यापारिक खानदानका उत्पादन थिए, उनले सर्वसाधारणका लागि आकर्षक वस्तुव्यापारको व्यवसाय रोजेनन् । समाजवादी चिन्तन, प्राज्ञिक मर्यादा र काव्यकर्मको असहज अध्यवसाय रोजे । सामान्य मानिससँग बाँच्दा उस्तै भएर बाँचे । उनले केही लिए र केही दिए । सामान्यतया चलाख मानिने शठहरू लिनमा मात्र कुशाग्र हुन्छन् । भूपि पीडा लिएर पीडाबाट उन्मुक्तिका सूत्रहरू काव्यकलामार्फत् दिनसक्ने सांसारिक जुनी प्राप्त गर्ने अति थोरै मनुष्यमा पर्छन् ।
नेपाली कवितामा भूपिको सबैभन्दा ठूलो प्रभाव उनका प्रायः सबै कविता नेपाली वा विश्व-मानवका जीवनका अहम् प्रश्नहरूसँग गाँसिएका छन् । यसैले तिनको चिन्तनको स्पर्श र प्रासंगिकता त छँदै छ, सँगसँगै तिनमा कलाको जस्तो प्रयोग छ, हामीलाई गहिरोसँग आन्दोलित गर्ने, चिन्तनशील तुल्याउने र विश्वका मुक्ति-आन्दोलनसँग नेपाली मस्तकलाई जोड्ने जुन प्रयत्न छ त्यो कम आल्हादकारी छैन । उनी हाम्रो समयका उत्कृष्ट काव्यकलाकार हुन् । समकालीन धेरै प्रतिभाशाली कविहरूले भूपिभन्दा धेरै अघि पुग्ने अहम् प्रयत्न गरेका छन् । तर, भूपिको प्रभाव कम हुँदैन, निरन्तर बढिरहेको छ ।

भूपि शेरचनको सन्दर्भमा, उनको निकट उत्तरवर्ती कविका रूपमा, हामीले जिम्मेवारी वहन गर्ने कुरा हो, त्यो त्यति सजिलो भने छैन । जीवनको लगभग उत्तरार्द्धमा (त्यतिबेला उनी प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ थिए) भूपिले मसँग भनेका थिए- 'तपाईं-हामी देवकोटा र रिमालका स्वस्थ सन्तान हौँ ।' यसको अर्थ निकै गम्भीर हुनुपर्छ । यसले देवकोटा र रिमालका नाममा कहीँकतै अस्वस्थ प्रवृत्ति पनि अस्तित्वमा आइरहेको थियो र उनले त्यसको पहिचान गरिसकेका थिए भन्ने संकेतसमेत गर्छ । उनलाई असाध्य रोगले च्यापेका बेला मैले त्यसलाई खुलस्त गर्न भन्न सकिनँ । उनी हामीसँग केही बढी नै अन्तर्क्रिया गर्न चाहन्थे । तर, उनको उपचार-व्यवस्था र परिवारमाथिको चापले त्यसो सम्भव भएन ।
तर, उनको देहावसानका यति वर्षपछि, नेपाल परिवर्तनको संघारमा छ । नयाँ सन्दर्भमा कविको भूमिका पनि पुरानै किसिमको रहन सक्तैन । आजको कविले आफ्नो जिम्मेवार काव्यकलाको माध्यमबाट नयाँ व्यवस्थामा आममानिसमाथि हुने यावत् दबाबलाई नवीन चेत र रूपका साथ अभिव्यक्त गर्नुपर्छ र आममानिससँगको आफ्नो सरोकारलाई अझ गहिरो र फराकिलो पार्दै विश्वका सबै भाषाका साहित्यमाझ पुर्‍याउनुपर्छ । हाम्रो कविताको उन्नत परम्परा र नयाँ चेत तथा रूपको प्रयोगले हामीलाई अन्य देशका काव्यशिल्पी र पाठकमाझ परिचित तुल्याउनेछ । हामीले न देवकोटा, न रिमाल न त भूपिलाई नै अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत गर्न सकेका छौँ । यस्तो अनुपस्थिति राज्यलाई बिझ्नुपर्ने हो । तर, त्यसको सांस्कृतिक नीति नै बनेको छैन । बने पनि हामीले नयाँ राज्यसँग पनि जुध्नै पर्नेछ किनभने उसका आफ्ना निहित स्वार्थले हामीलाई राज्यको स्रोतको घेराबाहिर पारी नै रहनेछन् ।
मलाई सम्झना छ, भूपिले २०३६ सालतिर मलाई नक्साल नारायणचौरस्थित आफ्नो घरमा बोलाएका थिए । उनको स्वास्थ्यको अवस्था निरन्तर खस्कँदो थियो र लामो समय घरमै सीमित रहन्थे । उनी मलगायतका नयाँ कविहरूसँग नेपाली कविताको स्रोत, सम्भावना र शक्तिबारे चर्चा गर्न चाहन्थे । भूपिले विश्वमा भएका समसामयिक हलचललाई अत्यन्त तीव्रताका साथ ग्रहण गर्थे भन्ने कुराका साक्ष्य उनका कतिपय कविताहरूमा पाइन्छ । उदाहरणका निम्ति भियतनामको साम्राज्यवादविरोधी युद्धमा उनले देखाएको ऐक्यबद्धता उनको एक अति नै शक्तिशाली कविता 'हो चि मिन्हलाई चिठी' मा देख्न सकिन्छ ।

उनी राजाले नियुक्त गर्ने प्राज्ञमा जागिर खान कमलादी गएपछि धेरै स्वनामधन्य वामपन्थी लेखक-समालोचकको मनमा पहिरो गएको थियो । उनीहरू भूपि बिकेको, बिग्रेको र भत्केर जराजीर्ण भएको बोल्थे, लेख्थे ।
भूपिले देहत्याग गरेको बेला न त राज्यका मिडियाले महत्त्व दिए, न त निजी क्षेत्रका मिडियाले उचित स्थान दिए । पञ्चायती सत्ताको प्यारो भएका भए शाही राज्यले पक्कै शोकगीत बजाउने थियो । उनी प्रतिबद्ध रहेको नेकपा मातृसमूह रायमाझीसँगै दरबार पसेको थियो र सायद त्यसैले घिसारेर उनलाई कमलादीको प्रज्ञादरबार पुर्‍याएको थियो । त्यस दंशको भयानक अनुभूतिले नै होला, उनले गरिमामा 'सर्पको खोजीमा' शीर्षकको कविता प्रकाशित गरे । त्यसै पत्रिकाको अन्तर्वार्तामा उनले 'क'ले आफू बिगे्रको बताएका थिए । ती 'क'का अर्थ थिए-कम्युनिस्ट र कवि । उनको यस अभिव्यक्तिले वाम खेमाका ठेकेदारहरूमा भुइँचालो गएको थियो । हुन पनि उनका धारदार कविताको रचनागर्भमा माक्र्सवादको गहिरो प्रेरणा थियो र जनप्रतिबद्धताले उनलाई जनकविका रूपमा उभ्याएको थियो । तर, माक्र्सवादको बर्को ओढेर शाही राजको पाउ ढोग्ने रायमाझीको राजनीतिक चालबाजीबाट उनले सचेत रूपमा उम्कने प्रयास गरेनन् । यसले उनलाई जीवनभरको लगानीबाट विमुख पार्‍यो । तर, उनको काव्यकलाका अगाडि ठाडो गरी हेर्नसक्ने क्षमता न वाम मार्गका सांस्कृतिक ठेकेदारहरूमा थियो न त दक्षिण मार्गका साहित्यिक जर्नेलहरूसँग नै थियो । उनीहरू भूपिको त्यस कमजोर गाँठोलाई समातेर आफ्नो प्रतिबद्धताको पुस्ट्याइँ गर्ने कोसिस गर्थे । तर, जब भूपिको उपस्थिति देखिन्थ्यो, तिनीहरू पुड्कै देखिन्थे । तिनको समस्या काव्यकलाको बुझाइमा हुन्थ्यो । त्यसैले खर्च गर्ने भूपिको लोकपि्रयताबाट सातो गएका केही समकालीन कविहरू उनको अनुपस्थितिमा उनलाई तुकबाज भन्थे, अनि मात्र आफू ऊभन्दा राम्रो कवि हुँ भन्ने डिङ हाँक्थे । तर, त्यसो गर्दा उनीहरू आफ्ना भैयादसँग हुन्थे जससँग काव्यचेतको अभाव त थियो नै, विचारविहीनताले तिनको मस्तकसमेत खुइलिएको हुन्थ्यो । तिनलाई भूपिको सहज अन्त्यानुप्रास मिलाउन सक्ने अद्भूत क्षमताबारे ज्ञान नभएर होइन बरु ती आफ्नो अक्षमतालाई ढाक्न त्यसो भन्ने गर्थे । यो कुरा कसैले भन्यो भने भूपि फिस्स हाँसेर भन्थे- 'बिचराहरूलाई क्राफ्टबारे थाहा छैन ।' त्यस हाँसोमा एक गम्भीर अर्थ लुकेको हुन्थो । अनि मुद्रालाई गम्भीर मोड दिँदै उनी भन्थे- 'कि त यिनले पढेका छैनन्, पढेका भए बुझेका छैनन् ।'
एकपटक उनको स्वास्थ्य अवस्थाबारे बुझ्न म नारायणचौर गएँ र पुगेँ सरासर उनको कक्षमा । उनी अक्सिजन मास्क लगाएर अल्बेयर कामुको उपन्यास (प्लेग हो वा द फल, कुन्नि ?) पढिरहेका थिए । नमस्कारपछि उनलाई सोधेँ- तपाईंलाई कस्तो छ ? उनले इन्सुलिनदेखि पेनिसिलिनसम्म लिइरहेको र अक्सिजनदेखि अल्बेयर कामुसम्म एकैचोटि भित्र हुलिरहेको बताए । एकैपटक यति धेरै किन ? मैले सोधेको थिएँ ।
'हतार भयो । अब बाँच्न कम समय रहेको हुनाले कम समयमा धेरै हुलिहाल्नुपर्नेछ, श्यामलजी !'
यो एक क्रूर ठट्टा थियो ।
केही मानिस नबुझिने कविता लेख्नु ठूलो कवि हुनु हो भन्ठान्छन् । प्रयोगधर्मिता भन्छन् । तपाईं के भन्नुहुन्छ ? मैले सोधेको थिएँ । म उनीबाट सकेसम्म केही जान्ने सुरमा थिएँ । र, खासगरी बौद्धिक भनिने कविताबारे भूपि के सोच्छन् भन्ने मेरो चासो थियो । उनको शालीन उत्तरले म झस्केँ ।

'मोहनजी मेरा मित्र हुनुहुन्छ । उहाँ व्यक्तिका रूपमा भद्र हुनुहुन्छ । तर, मोहनजीजस्तै लेख्ने हो भने दिनमा सयवटासम्म लेख्न सक्छु ।' यति भनेर उनी चिरपरिचित मुस्कानका साथ विस्तराबाट बिस्तारै उठे । मास्क निकाले र चुरोट खोजेझैं गर्न थाले । उनले कामुले आफूलाई धेरै प्रभावित गरेको र यो उपन्यास सायद दोहोर्‍याएर पढेको बताए । चियाको चुस्कीसँगै केही बेर पाब्लो नेरुदा, हो चि मिन्ह, लोर्का, नाजिम हिकमत, रिमाल र देवकोटाबारे कुरा गरेर म फेरि आउने बाचासहित फर्किएँ । र्फकंदा सिरानीनिरको अक्सिजन सिलिन्डर र म त्यहाँ गएदेखि रिङ नगरिएको टेलिफोन हेर्दै फर्कें ।
केही दिनपछि मैले भूपि शेरचनमाथि एक कविता लेखेँ र गरिमालाई दिएँ । छापिएपछि मैले उनको फोन पाएँ । धन्यवाद पाएँ र एकपटक फेरि भेट्ने निम्तो पनि ।
र, त्यसको केही दिनपछि, सायद अफिसको काममा एक हप्ताजति काठमाडौंबाहिर गएर फर्केपछि न्युरोड गेटनिर सनत रेग्मीले भूपि शेरचनको अन्तिम संस्कार भइसकेको सूचना दिए । बस्, यो आगामी भेटहरू र संवादको, उनीबाट सिक्ने र बुझ्ने मेरा अभिलाषाहरूको अवसान थियो ।
त्यसको एक वर्षपछि । कवि शैलेन्द्रसिंहले आफ्नै निवासमा भूपिको स्मृति गर्ने भनेर हामी केहीलाई बोलाए । त्यहाँ थिए स्व. ईश्वर बराल, स्व. वासु शशी, ध्रुवचन्द्र गौतम, नगेन्द्रराज शर्मा, विनोद अश्रुमाली आदि एक दर्जनभन्दा बढी स्रष्टाहरू । सायद गोविन्द वर्तमान पनि उपस्थित थिए । उपस्थितमध्ये केहीले भूपिको स्मृति गर्ने बहानामा उनको शवको उत्खनन गरिरहेका थिए । तिनीहरू भूपिको काव्यकला र नेपाली कवितामा उनको स्थान र योगदानबारे मौन थिए, तर भूपिको मद्यप्रेम, केही त्यस्तै अलोकपि्रय र असामाजिक लाग्ने घटना र भूपिको मानमर्दन हुने क्षणका स्मरण गर्दै थिए । मेरा लागि यो अति असहज अवस्था थियो र मैले भूपिको पहिलो वाषिर्कीमा त्यस प्रकारको लज्जास्पद काम नगर्न आग्रह गरेँ । मैले आग्रह गरिरहँदा ती सबै मौन थिए मानौँ तिनले साँच्चिकै अपराध गरेका हुन् । मैले हरिभक्त कटुवाललाई पनि त्यस्तै गरिएको र उनीहरूजस्ता समर्थ रचनाकारलाई स्मरण गर्ने उपयुक्त शैली वरण गर्न भनेँ ।
बिचरा कमजोरहरूलाई अरूको कमजोरीको चर्चा गर्दा आनन्द आउँदो रहेछ ।
अहिले म सोच्छु, गणतन्त्र भूपिको पनि सपना थियो । तर, छद्म गणतन्त्रवादीले भूपिको सपनालाई सपना मान्नेछैनन् ।
आखिर यहाँ भूपिले भनेझैं त हुन्छ :
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ
जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर
जीवन बिताउनुपर्दछ

Read more...

गजल

बिलासी पागल
मुर्झाएको झार झै नहुँ अलिकति पानी हाल्न आउ
हराएको पागल झै नहुँ मलाई चाडै सम्हाल्न आउ

अध्यारोमा पथ भुलेको यात्री झै भौतारिदैछु म
मार्गनिर्देश गर्न मलाई प्रेमको दियो बाल्न आउ

यही हो जुर्मुराउने बेला भन्छन सबै बुढापाकाहरुले
तिमीपनि हृदयमा प्रितका केही रहरहरु पाल्न आउ

साथमा हाँसो गर्दाखेरिको पलभर पनि कति प्यारो
यसरी नै ठटटा गर्दै सधैं बिलासीलाई दाल्न आउ

कल्पनामा मनका धेरैधेरै रहरहरु तुन्दै बस्छु म
मेरा ती सारा कल्पनालाई यथार्थमा ढाल्न आउ

सम्हाल्ने कोही पनि नभएर चर्किदैछ मेरो संसार
दावा गर्दै मेरै हौ भनी सब छिद्रहरु टाल्न आउ

सुनसरी हुन्छ भन्छन एकबार मिल्ने जवानी यो
बगरको पत्थर झै नहुँ कतै बेला छदै गाल्न आउ

डटी हिडने अठोट गर्दै बिघ्नबाधाहरुमा नि
दुईचार कदम सँगसंगै प्रीतिपथमा चाल्न आउ

प्रीतिपथमा यात्रा गर्दा दुश्मन हुनसक्छ दुनियाँ
साथमा बाँच्न नपाइएमा संगै ज्यान फाल्न आउ

फेदीखोला -९

Read more...

नारी आकर्षण (लघुकथा)

रविवार, 18 अक्तूबर 2009

"होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्" होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए "छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ" । अाइन्दा "यस्तो हरकत" कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको "निकै मनोरञ्जक समाचार" बन्यो, बजारको यस समाचारलाइ "शालीन (?)" गृहिणीहरूले टिप्पणी गरे "अचेलका बच्चा उम्रिदै तिनपात !"। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ "अस्लील चलचित्रले बिगारेको" निस्कर्षमा पुगे । "केटी भने पछि केटाहरूको जातै यस्तो" क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । "पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको" ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने "क्रान्तिकारी" नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि "शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको" निस्कर्ष निकाल्यो ।

Read more...

रालो (लघुकथा)

मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर पनि बाँचेका मुसाहरूले विरालाको घाटीमा घण्टी झुन्ड्याउनै पर्ने माग राखे। एउटा मर्न लागेको बुढो मुसाले पहिला एकपल्छ जालमा पर्दा जाल काटेर बिरालोलाइ बचाएको थियो। मुसाहरूले बृद्ध मुसाको बिरालोसँगको गोप्य साँठगाँठको कुरा पनि गर्थे। बिरालाले सुन्तलाको रुखमा चढेर पाकेको सुन्तला झारेको र बृद्ध मुसालाई ख्याएर पालेको हल्ला समेत गाइँगइँ मुसाहरूमा चल्यौ। उक्त जेष्ठ मुसाका अगाडि मुख फोर्न हच्किन्थे मुसाहरू।
विरालासँग वार्तामा बस्नै जिम्मा पनि बुढो मुसालाई दिए। तपाई हाम्रो जेष्ठ प्रतिनिधि, तपाइले यस्ता धेरै विराला देख्नु भो, तपाई त विरालाहरूलाई बायाँ गौजिमा हालेर हिँड्न सक्ने युगनेता मुसो ......... मुसाहरूले तारिफ गरेपछि बृद्ध मुसो वार्ताका लागि तयार भयो। बृद्ध मुसाले सोच्यो वास्तवमा वार्ता सफल भयो भने त बन्धुघातको जो लान्छना मलाई लागेको छ सो पनि मेटिने भयो। मर्ने बेलामा सबैको श्रद्धाको पात्र हुन पाइने फेरि विरालालाई पनि आफू चानचुन मुसो नभएको र बिरालो नै पनि आफ्ना अगाडि झुकेको देखाउन पाइने दोहोरो फाइदा देखेर बृद्ध मुसो वार्तामा गयो।
बिरालाले एक गाँस परे यही फटाहा बुढो मुसालाई पार्छ ठेल्दिऊँ वार्तामा। युवा मुसाहरुको मत मिल्यो। लामो वार्तापछि, बिरालो त घाँटीमा घण्टी बाँध्न सहमत सहमत भएको संयुक्त वक्तव्य पनि जेष्ठ मुसा र बिरालाले निकाली छाडे। जेष्ठ मुसाको शानै बेग्लै ।
बृद्ध मुसाको अभिनन्दन भयो। उहाँ जीवनभरी बन्धुघात गरे पनि अहिले रुपान्तरण भएर क्रान्तिकारी भएकोमा ठूलठूला अभिनन्दन भए। बिरालोले पनि बृद्ध मुसाको महानतामा आफूलाई गौरव लागेको वक्तव्य निकाल्यो।
टुँडिखेलमा हजारौं मुसाका अगाडि घोषणा सभामा बिरालो घाँटीमा घण्टी बाँधेर हाजिर भयो। तर विरालोको घाटीमा बाँधिएको घण्टीमा “रालो” नभएको कुरा भने बृद्ध मुसालाई मात्र थाहा थियो।

Read more...

अमूर्त यौन (लघुकथा)



“यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि ग्लस पोतिएको ओठ टोक्दै आक्रोशित भइन।”
पल्लो क्याम्पसको त्यही केटाहरूको काम हो यो। यस्तो अश्लील मूर्ति ले'राएर हाम्रो क्याम्पस अगाडि राख्ने। निर्लज्जताको पनि सीमा हुन्छ। यस्तो अश्लील मूर्तिले हाम्रो र सिङ्गै कन्या क्याम्पसको अपमान गरेको छ। सम्पूर्ण नैपाली दिदी बहिनीको अपमान गरेको छ। यसको प्रतिकार गर्नै पर्छ साथीहरू हो। मिनिस्कटमाथि सारेर अर्की नैतृ कुर्लिन। यो ल्याउने र यहाँ राख्ने दोषी पत्ता लगाएर हाम्रो अपमान गर्नेलाई कार्यवाही नगरेसम्म हाम्रो क्याम्पस अगाडिबाट कुनै गाडी चल्न दिइने छैन। स्ववियु सभापति नेतृले अडान लिइन।
मूर्ति लिएर आउनै ठेला चालक बचाऊ गर्दै थियौ। ए हजुर मलाई किन हात हाल्नु हुन्छ ? म त गरिब मान्छे पाएको काम गर्ने हौ। मैले एक छाक खान ठेला तान्न पर्छ मेरो के दोष छ र ? बिचरो ठेला चालकमाथि आफ्नो घरको लोग्नेसँग रिस समेत पोख्दै थिए कन्या क्याम्पसका विद्यार्थी ।सडक भरी इट्टा र ढुङ्गा छरपस्ट थिए। कन्या क्याम्पस अगाडिको चोकमा टाएर बालिरहेको थियो । गृहमन्त्रीको राजीनामा माग गर्दै कानमा मुन्द्रा लगाएका सधैं कन्या क्याम्पसकै सेरोफेरोमा देखिने केही केटाहरूले नारा लगाइरहेका थिए।

नीलो प्लेटको कालो चिप्लो गाडी बल्दो टायरको छेउमा रोकियो । इटालेली राजदूत गाडीबाट ओर्लिए पछि बल्ल थाहा भयो “आडम एण्ड ईभ” नामक, मेकल्याज्डोलोको प्रख्यात अमूर्त कला रहेछ । त्यो मूर्ति कन्या क्याम्पसको कला विभागलाई दिएको उपहार रहेछ।

Read more...

हो, म बाहुन हुँ (कविता)



हो
म एक्काइसौ सताद्वीको बाहुन हुँ
जनै फालेर बिष्णु अवतारका दोवाटे टपरीमा
च्यातेर बिभेदका कर्मकाण्डहरू
अस्वीकार गर्दै कसैको भजन किर्तनका नीत्यकर्म
म अश्रुग्यासले रोइरहेको सडकको वीचमा छु
अगालो मारेर मेरै बालीघरे कामीदाईसंग
म चुच्चो नाके अनुहारको मान्छे
जनजाती आन्दोलनमा नारा घन्काउने
नयाँ यूगको आवाज हूँ
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

कुनै महाराजको काट्टो खान अस्वीकार गर्ने
कपाल नखौरने कुनै तानाशाहको मृत्यूमा
पशुपतिको ब्रह्मनालमा पनि
धर्म निरपेक्षको मस्तुल उठाउने
आफ्नै लागि आफै पञ्चेबाजा बजाउने
युगनायकका मूर्ति बनाउने
नयाँ समयको कालीगड हूँ
इतिहासमा पहिरो जान पूर्व मोफसलका बस्तीमा
कमलपित्तका विरूद्ध हाकहाल्ने
झसमिसेको म कटवाल हुँ
सिलाएर रंगिचंगी हिऊँ र
धानमा बहेली खेल्ने बतासको
थाङ्राभोटा तुन्ने दमाइ हुँ म
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

नलगाए पनि जनै
रित्ता घाँटीमा झुण्डिए पछि बाहुनबाद
छुवाछुत गरे पछि आफ्नै दाजुभाइ सँग
ए नयाँ युगका कथित मान्छे
तिमी खाट्टी पुराना बाहुन हौ
पुराना युगका खण्डहर
तर म धेरै फरक छु तिमीभन्दा
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

Read more...

परदेश

सोमवार, 12 अक्तूबर 2009

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

Read more...

  © Blogger template Brownium by Ourblogtemplates.com 2009

Back to TOP